काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को नयाँ मापदण्डमा आपत्ति जनाएको छ । नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’को मस्यौदामा इप्पानले असन्तुष्टि जनाएको हो ।
इप्पानले विशेषगरी नेटवर्थको विषयमा पनि आपत्ति जनाएको छ । उक्त मस्यौदामा आईपीओ जारी गर्ने संगठित संस्थाको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम हन नहुने उल्लेख छ । उक्त निर्देशिका स्वीकृत भए १०० रुपैयाँ भन्दा कम नेटवर्थ भएका कम्पनीले आईपीओ जारी गर्न पाउने छैनन् । यही कारण पनि इप्पानले उत्पादनमूलक उद्योग, जलविद्युत आयोजनाका लागि उक्त व्यवस्था हटाउन माग गरेको छ ।
इप्पानले निर्माण अवधिमा सम्पत्तिको मूल्यका कारण नेटवर्थ ९० रुपैयाँ भन्दा तल आउनसक्ने र निर्माणपछि आम्दानीको अवस्था फरक हुने भन्दै नेटवर्थलाई मात्र आधार बनाएर जलविद्युत आयोजनाको आईपीओ रोक्न नहुनेमा जोड दिएको छ ।
त्यस्तै, इप्पानले मस्यौदा पुनरावलोकनको समेत माग गरेको छ । हाल धितोपत्र बोर्डमा झण्डै ३ दर्जन कम्पनीले आईपीओ निष्कासनको लागि आवेदन दिएका छन् । ती कम्पनीहरुले १७ अर्ब १९ करोड रुपैयाँ बराबरको १६ करोड ८३ लाख कित्ता सेयर निष्कासन गर्न लागेका हुन् ।
तर, निर्देशन जारी भए आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया समेत प्रभावित हुने भन्दै इप्पानले मस्यौदा पुनरावलोकन गर्न माग गरेको छ ।

