खेलकुद

एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

एन्फा मुख्यालय ललितपुरमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन समय दिइएको छ।

एन्फाका सहायक महासचिव बद्री भट्टराईका अनुसार पछिल्लो समय एन्फासँग सम्बन्धित विषयमा प्रश्न उठेकाले सम्बन्धित व्यक्तिहरूबाटै घटनाबारे जानकारी लिन पत्राचार गर्ने निर्णय भएको हो। उनले घटनाबारे केही नगरेको भए प्रहरीले किन पक्राउ गर्‍यो र संलग्नता भए त्यसको वास्तविक अवस्था के हो भन्नेबारे स्पष्ट जानकारी लिन स्पष्टीकरण मागिएको बताए।

बैठकमा एन्फा कार्यसमितिका २० सदस्यमध्ये १२ जना सहभागी भएको भट्टराईले जानकारी दिए। बैठकले अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र सरकारसँग समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा समन्वय समिति पनि गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही तथा सदस्यहरू टिकाराम लामा र मनिष जोशी छन्।

फिफा र सरकारबाट भएका सबै पत्राचार संकलन गरी समन्वय गर्न समिति गठन गरिएको जनाइएको छ। फिफा, एएफसी र नेपाल सरकारबीच एन्फाको समन्वयमा भौतिक बैठक बस्ने प्रक्रियाहरू पूरा गरी निर्वाचनको विषयमा अघि बढ्ने निर्णय भएको बैठकमा सहभागीले बताएका छन्।

बैठकले प्रशासन सञ्चालन तथा पत्राचारका लागि सहायक महासचिव बद्री भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। यस्तै, फिफा यू–१५ विश्वकप तथा फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीलाई प्रोत्साहन गर्न सरकारलाई पत्राचार गर्ने निर्णय भएको छ।

लामो समयदेखि खेलाडी, कर्मचारी र प्रशिक्षकको पारिश्रमिक रोकिएको विषयमा आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय पनि बैठकले गरेको भट्टराईले बताए।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ र महासचिव राई ५र५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल सन्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन्। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।