समाज

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

सेयर गर्नुहोस्

NP EN Audio— Listen to this article
00:00
--:--
Ready

काठमाडौं । बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिनमा प्रवेश गरेको छ। यसको प्रभावले नेपालका केही भूभागमा समेत बादल लागेको छ।

बुधबार ९कात्तिक ११० दिउँसो १ः१५ बजेसम्मको अपडेटअनुसार चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको हो। चक्रवात कमजोर बन्दै भारतको आन्तरिक भूभाग हुँदै नेपाल नजिक आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै अघि बढ्नेछ। आगामी कात्तिक १३ गतेसम्ममा यो प्रणाली नेपाल नजिक पर्ने भारतको उत्तर प्रदेश र बिहार आसपास आइपुग्ने अनुमान गरिएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागेको छ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा बिहान हल्का वर्षासमेत भएको छ। चक्रवातको प्रभावले आज देशभर मौसम बदली रहने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलिदेखि शनिबारसम्म भने वर्षाको मात्रा र दायरा विस्तार हुने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका करिब ७० प्रतिशत स्थानमा पनि मध्यम वर्षाको आकलन गरिएको छ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ। ती प्रदेशमा पश्चिमी वायुको समेत प्रभाव रहने भएकाले मेघगर्जन, चट्याङ र असिनापानीको जोखिम रहेको महाशाखाले औँल्याएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाशाखाले आइतबार बिहानसम्मका लागि चेतावनी नक्सा जारी गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा रातो रङ अर्थात् रेड अलर्ट जारी गरिएको छ। यी क्षेत्रमा सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

त्यस्तै कोशीको पहाडी भूभाग, मधेस, बागमती र गण्डकीका पहाड तथा तराई, लुम्बिनीको पहाड र पूर्वी तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा सुन्तला रङ अर्थात् अरेन्ज अलर्ट जारी गरिएको छ। ती क्षेत्रमा सतर्क रहन र मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक हुन महाशाखाले आग्रह गरेको छ। बाँकी भूभागमा पहेँलो रङमार्फत सचेत रहन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार

यो हप्ताका धेरै हेरिएका समाचार

टिप्पणी लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।