काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय समाजमा ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।
ओलीले पार्वतीले श्राप दिएपछि देवताहरूको सन्तान जन्मिन बन्द भएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको बताए। “२२–२३ सय वर्षअघि भगवानहरू छ्यापछ्याप्ती जन्मिँदा ३३ कोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्,” उनले भने, “अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ।”
समाजमा दक्षिणतिरबाट आउने जोगीलाई सहजै भगवान्को रूपमा मान्ने प्रवृत्तिप्रति पनि ओलीले टिप्पणी गरे। आफूहरूले आफ्नै देशका विद्वान्लाई पर्याप्त नचिन्ने तर विदेशीले लेखेका ग्रन्थलाई बढी उद्धृत गर्ने गरेको उनको भनाइ थियो।
ओलीले योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गर्दै अष्टाङ्ग योगले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको बाटोमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने बताए।
उनले पतञ्जलीको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गर्दै योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने बताए।

